ताजा समाचार

प्रधानमन्त्री ओलीले अब अर्को चमत्कार गर्नुहुन्छ : सल्लाहकार मैनाली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनालीले वर्तमान सरकारको यो ८ महिने कार्यकाल पूर्ण सफल रहेको दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सल्लाहकार अच्यूतप्रसाद मैनालीले उक्त कुरा बताएका हुन् ।

उनले भने,‘सरकार असफल भयो भनेर विपक्षी दलले लगाएको आरोपमा कुनै सत्यता छैन् । सरकार अब ‘एक्शन–ओरिएण्टेड’ हुन्छ ।’ यद्धपी उनले जनताको चाहनाअनुसार अहिले काम भने हुन नसकेको स्वीकार गरे ।

मैनालीले भने,‘जनताका आकांक्षा र चाहनाबमोजिम काम हुन सकेका छैनन् । कामहरु भैरहेका छन् तर, जुन रफ्तारमा हुनुपर्ने हो भने त्यो हुन सकेको छैन् । यो सरकारले जुन अवस्थामा आफ्नो जिम्मेवारी सम्हालेको थियो, त्यतिवेला हामी जनताको चाहना सम्बोधन गर्न सक्ने अवस्थामा थिएनौं । जनताको चाहना पूरा गराउने केन्द्रविन्दु भनेको नै बजेट हो ।’ सरकारबारे भैरहेका आलोचनाहरुलाई आफूले स्वभाविक रुपमा लिएको पनि उनले सुनाए ।

उनले मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै यसबारे पार्टीले समिक्षा गर्ने विषय भएको प्रतिक्रिया दिए । उनले भने,‘दशैंपछि मन्त्रिहरु फेरिने भनेर मिडियामा बाहिर चर्चा भएका छन् । तर, यस सम्बन्धमा मैले बोल्नुहुँदैन् । यो त पार्टीले समिक्षा गर्ने विषय हो ।’

उनले प्रधानमन्त्री ओलीले कोशीमा पानीजहाज कुदाउनेदेखि लिएर दुवै देश (भारत र चीन) को रेल काठमाडौं ल्याउने पनि दाबी गरे । उनले भने,‘प्रधानमन्त्रीले आफ्नो कार्यकालमा चमत्कार गर्नुहुन्छ । ओली सरकारबारे विरोधको लागि मात्रै विरोध नर्गुहोस । कोशीमा तिहारपछि चीनको सहयोगमा ‘स्ट्रिमर’ चल्छ ।’

उनले प्रधानमन्त्रीलाई भेट्न कुनै छेकबार नलगाईएको पनि स्पष्ट पारे । उनले भने,‘राजकीय काम र पार्टीगत भेटघाटको चाप छ । यसले गर्दा व्यस्तता देखिएको हो । विदेशी नियोगका प्रमुखहरुसँगपनि भेटघाट भैरहन्छ । तर, हामीले कुनै छेकबार गरेका छैनौं । प्रधानमन्त्रीज्यूको सरल स्वभाव भएको कारणपनि उहाँलाई सिधै भेट्न चाहनुहुन्छ ।’

फरक प्रसँगमा उनले राष्ट्रपति निवास शितलनिवासमा टिका ग्रहण गर्दा घुँडा टेकेको प्रसँगमा व्यापक टिप्पणी भैरहेको सुनाउँदै भने,‘बास्तवमा त्यहाँ सेनाले टिका थाप्ने बेलामा कुर्सी निकालिएको रहेछ । त्यो सेनाको परम्परा हो । त्यसपछि अरुले टिका ग्रहण गर्दा आफ्नो आसनमा लगाउनुभयो । तर, बाहिर ब्यापक बढाईचढाई गरियो ।’ उनले सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको पनि सुनाए ।

नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरेबमोजिम काम गर्न नसकेको र असफल भएको आरोप लगाएका छन् । उनले भने,‘ओली सरकारसँग सशक्त बहुमत छ, तर जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन् । सरकारको काम सन्तोषजनक छैन् । सरकारको सुरुवाती लक्ष्य शुभ देखिएको छैन् । सरकार अहिले धेरै पछि पर्यो ।’

महासचिव मैनालीले तत्कालिन् नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन नबनेको पनि आरोप लगाए । उनले भने,‘संविधान संशोधनको विषय अहिलेपनि छ, तर यो विषयमा पहिले यी दुई पार्टीले एकले अर्कोलाई राष्ट्रघाती भनेर आरोप लगाए । यो विषयमा गठबन्धन गर्दा उनीहरुले बोलेको देखिएन् । संविधान संशोधनको आवश्यकत्ता र औचित्यबारे यी दुई टाउकेहरुले कसरी व्याख्या गर्ने हुन ? त्यो हेर्न बाँकी छ ।’

मैनालीले सरकारले आफ्ना प्रतिबद्धताहरु पूरा गर्न नसकेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘जनताका आकांक्षा त सरकारले पूरा गर्न सकेन् । तर, ३३ केजी सुन प्रकरण, ठेकेदारहरुलाई कारबाही गर्ने कुरा, एनजिओ तथा आईएनजिओको सम्पत्ति विवरण सार्वजनिक गर्ने कुरा सरकारले सुरु गर्यो, तर बीचमै छाडिदियो । चाडबाडमा महँगी अस्वभाविक रुपमा वृद्धि भएको छ । हत्या, हिंसा, बलात्कारका घट्नाहरु बढेका बढै छन् । यसमा सरकार चुकेको छ ।’ त्यस्तै उनले सरकारले जनतालाई अनावश्यक कर र दस्तुरको भार बोकाएकोपनि आरोप लगाए ।

निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा अपराधी पत्ता लगाउन सरकार चुकेको उनको आरोप छ । उनले भने,‘आज यतिका लामो समय भैसक्यो, तर अपराधी पत्ता लगाउन सरकारले सकेको छैन् । अनुशन्धान गर्नुपर्ने पात्रहरुको बारेमा अनुशन्धान भएको छैन् । जुन घरबाट निर्मला हराईन, त्यो घरबाट केन्द्रित रहेर अनुशन्धान गर्नुपर्छ । प्रधानमन्त्रीले बम दिदिबहीनीको डिफेण्ड गर्नुभयो । उहाँले यसरी डिफेण्ड गर्नु गलत हो । यो अत्यन्तै चिन्ताजनक कुरा हो ।’

सरकारले जनताको अपेक्षाअनुसार काम नगरेको बताउँदै सरकारप्रति जनता अहिले सन्तुष्ट पनि नरहेको उनले जिकिर गरे । उनले भने,‘सरकारले गलत दिशा लिएको छ । सुरुवात विल्कुलै राम्रो देखिएन् ।’

फरक प्रसँगमा उनले दशैंमा सत्ताधारीहरुबाट आर्शिवाद लिनु राम्रो नभएको बताउँदै प्रधानमन्त्री र राष्ट्रपति दुवै वृद्धवृद्धाको हातबाट टिका ग्रहण गरेको भए राम्रो हुने थियो भन्ने प्रतिक्रिया दिए । उनले भने,‘घुँडा टेकेर टिका ग्रहण गर्नु भनेको सामन्ती प्रवृत्ति हो । शुभ लक्षण होईन् ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री एन.पी. साउदले वर्तमान सरकार असफल भैसकेकोले गम्भिर जोखिममा रहेको बताएका छन् । उनले भने,‘वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ । हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो । तर, नेकपाकै बरिष्ठ नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीजस्तो नेताले सरकारको गम्भिर आलोचना गर्नुभएको छ । यो सरकार धेरै चल्नुहुँदैन् भनेर भन्नुभएको छ ।’

 

 

सरकारले अहिलेसम्म राहतका काम केही पनि गर्न नसकेको उनले गम्भिर आरोप लगाए । उनले भने,‘चामल, दाल, तेल, चिनीको मुल्य वृद्धि गरिएको छ । दैनिक उपभोग्य वस्तुको मुल्य उपभोक्ताको ढाड सेक्नेगरि बढाईएको छ । जिम्मेवार मन्त्रीहरु तस्करहरुलाई संरक्षण दिने काम गरिरहेका छन् । चिनीको मुल्यवृद्धि पनि त्यसैको परिणाम हो ।’

सरकारले समृद्धि हाँसिल गर्नु त टाढाको विषय भएको बताउँदै उनले भने,‘अहिले कर्मचारीको तलब दिन सक्ने अवस्था पनि छैन् । कर्मचारीलाई तलब नदिँदा दशैं मनाउन पाएनन् । आर्थिक विपतको पूर्व संकेत देखा परिसकेको छ । यो ८ महिनामा मुलुकको अर्थतन्त्र सरकारले तहसनहस पारेको छ । समृद्धि र स्थिरतामा सरकार असफल भएको छ ।’ संविधान कार्यान्वयन गर्नपनि सरकार असफल भएको उनले गम्भिर आरोप लगाए ।

नेता साउदले नेकपाको केन्द्रमा मात्रै नभएर ६ वटै प्रदेश र अधिकांश स्थानीय तहमा सरकार भएर हालीमुहाली भएपनि जनताले भनेजस्तो काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘हुँदाहुँदा अब मुख्यमन्त्रीहरुले भेला आयोजना गरेर हामीलाई अधिकार प्रत्यायोजित गरिएन भनेर गुनासो पोखे । यसले संवैधानिक बिशृंखलता उत्पन्न गराउँछ । संविधान र संघीयतालाई नै असफल बनाउने बाटोतर्फ यो सरकार हिँडिरहेको छ ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन महिना बितिसक्दापनि सरकारले अपराधी पत्ता लगाउन नसकेकोमा गम्भिर आपत्ति जनाए । उनले भने,‘सारा राज्य लागेको छ, तर अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन् ।

सरकारले केही कर्मचारी र प्रहरी अधिकारीलाई निलम्बित गरेर जनताको मुख्य ध्यान भड्काउन खोज्दैछ । बलात्कारीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
उनले नेकपाका साना भुरा कार्यकर्ताहरुले प्रशासन चलाउन खोजेर कर्मचारी तन्त्रको मनोबल खसाईरहेको पनि आरोप लगाए । उनले भने,‘सरकार ठिक बाटो (ट्रयाक)मा आओस्, तर सुध्रिने कुनै छाँटकाँट छैन् । यो वाम सरकार होईन, दाम र खाम सरकार हो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org