ताजा समाचार

हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको खुलासा

काठमाडौं ८, कात्तिक। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनसहित उच्च व्यक्तित्व र सञ्चार माध्यममा हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको खुलासा भएको छ ।

२३ अक्टोबरमा क्लिन्टन र त्यसको भोलिपल्ट ओबामाको ठेगानामा विस्फोटक पदार्थ पठाइएको थियो । अमेरिकी सुरक्षा निकाय सेक्रेट सर्भिसका अनुसार, दुवै ठेगानामा एउटै शैलीमा विस्फोटक पदार्थ प्याक गरेर पठाइए पनि ती कुनै पनि विस्फोट भने भएनन् । ओबामा र क्लिन्टनको ठेगानामा पुग्नुअगावै विस्फोटक पदार्थ नियन्त्रणमा लिइएको छ । सर्भिसका अधिकारीहरूले वासिंटन डीसीमा ती विस्फोटक पदार्थ नियन्त्रणमा लिएका हुन् ।

तर ओबामाका प्रवक्ताले यसबारे कुनै प्रतिक्रिया नजनाएको बीबीसीको विवरणहरुमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सीएनएनको न्यूयोर्कस्थित कार्यालयमा भने सम्पूर्ण सरकारी निकायहरुलाई छल्दै त्यस्तो विस्फोटक पदार्थ पुर्‍याइएको छ । जसको त्रासले टेलिभिजनको समाचार कक्ष नै खाली गराइएको समाचारहरु प्रकाशमा आएका छन् ।

अमेरिकामा पछिल्लो समय विस्फोटक पदार्थहरुको त्रास बढेको छ । केही दिनअघि मात्रै न्यूयोर्कका एक अर्बपति तथा समाजसेवी जर्ज सुरोसको घरमा बम भेटिएको थियो ।

यस्ता विस्फोटक पदार्थ पूर्वअमेरिकी वरिष्ठ अधिकारीलाई लक्षित गर्दै पठाउन लागिएको दाबी चिठी तथा पार्सलहरु जाँच्ने प्राविधिकहरुले गरेका छन् । तर यो काममा कसको संलग्नता छ भन्नेबारे अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।

अमेरिकी संघीय अनुसन्धान व्यूरो (एफबीई)ले घटनालाई गम्भीरतापूर्वक लिएको जनाउँदै यसबारे अनुसन्धान भइरहेको बताएको छ ।

अमेरिकामा यस्ता विस्फोटक पदार्थ हुलाकमार्फत् पठाइएको यो पहिलो घटना भने होइन । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई पनि यसैगरी विष्फोटक पदार्थ पठाइएको खबर प्रकाशमा आएको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिमा शिष्ट र सभ्य हुन अमेरिकी जनतालाई आग्रह गरेका छन् । हुलाकमार्फत ओबामा, क्लिन्टन र सीएनएनको कार्यालयमा विस्फोटक पदार्थ पठाइएको घटना प्रकाशमा आएसँगै ट्रम्पले यस्तो आग्रह गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org