ताजा समाचार

चितवन नमुना जिल्ला बन्छः प्रचण्ड

चितवन।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको विकासमा केन्द्रित भएको बताएका छन् । भरतपुर महानगरपालिकाले आइतबार आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालू वर्षमा सञ्चालन हुने आयोजना घोषणा सभामा बोल्दै उनले भरतपुर नमुना महानगर र चितवन नमुना जिल्ला बनाउने बताए ।

जिल्लामा रहेका ऐतिहासिक महत्व बोकेका स्थलहरू, विश्व सम्पदा सूचीमा रहेको निकुञ्ज, दुई ठूला राप्ती र नारायणी नदी, धार्मिक महत्व बोकेको देवघाटजस्ता स्थलले गर्दा चितवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाएको अध्यक्ष दाहालले बताए । विकास निर्माणका लागि यहाँका राजनीतिक दल र जनप्रतिनिधिको एकताले गर्दा जिल्लालाई नमुना बनाउन सकिने उनको भनाइ छ । भरतपुर महानगरपालिका क्षेत्रको विकासका लागि यसअघि शहरी विकास, सिँचाइ, खानेपानी मन्त्रीले विशेष चासो देखाएको भन्दै अध्यक्ष दाहालले सबैको ध्यान खिच्न चितवन सफल भएको बताए ।

आफूले हिजो प्रधानमन्त्रीलाई भेट गरेको प्रसंग उल्लेख गर्दै उनले भरतपुर महानगरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र सिटी हल निर्माणका लागि आफ्नो सहयोग रहने सन्देश पठाएको  बताए । चितवन हुँदै रेलमार्ग, केरुङ ठोरी मार्गजस्ता पूर्वाधार यहाँ निर्माण हुन लागेको अध्यक्ष दाहालले बताए । सो अवसरमा पूर्वअर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले भरतपुर महानगर देशकै नमुना महानगर बन्न सक्ने बताए । उनले भने, “यो महानगरले काठमाडौँ महानगरलाई उछिन्न सक्छ ।” पौडेलले देशकै समृद्ध, विकसित र नमुना महानगर भरतपुरलाई बनाउन शुभकामना दिए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जिल्लाका आफ्नो मन्त्रालयअन्तर्गतका चालू आवका योजनाहरू सार्वजनिक गरेका थिए । उनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडक बनाइने, भरतपुर महानगरमा चक्रपथका लागि विस्तृत अध्ययन शुरु गरिने, हुलाकी राजमार्गको भरतपुरदेखि ठोरीसम्म पहिलो चरणमा काम सुरु गर्नेलगायत महत्वपूर्ण आयोजना घोषणा गरेका थिए । यसैगरी, भरतपुर महानगर एवं जिल्लाका भित्री सडकहरूमा मन्त्रालयका योजनाहरूका बारेमा उनले जानकारी गराए । मन्त्री महासेठले जनतासँग गरेका प्रतिबद्धताअनुसार सरकार अघि बढेको बताए । सरकारले सडकसँगै रेल र जलमार्गलाई प्राथमिकता दिएको पनि उनले बताए । सो अवसरमा महानगरका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, डिभिजन सडक कार्यालय चितवनका प्रमुख धर्मेन्द्र झालगायतले मन्तव्य राखेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org