ताजा समाचार

भ्रष्टाचारीहरूलाई कारबाहीको प्रक्रिया चलिरहेको छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रमपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भने,‘भ्रष्टहरूलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरू ती अपराधहरूलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ । भ्रष्टाचारीहरूलाई जेल हाल्ने प्रक्रियापनि चलिरहेको छ । निश्चयपनि यो अलिक मन्द छ । अब आउने दिनहरूमा त्यो प्रक्रियाहरूलाई अझै तिव्र पार्नेछौं । अझै व्यापक बनाउनेछौं ।’

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको देउसी टोलीसँग उनले सरकारले बलात्कारीहरूलाई पनि कारबाही गरिरहेको बताए । उनले भने,‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरूको संख्या ठूलो छ । जबरजस्ती करणी गर्ने, बलात्कार गर्नेहरू, व्यभिचार गर्नेहरूको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरूलाई कारबाही भैरहेको छ । जहाँसम्म निर्मला प्रकरणको कुरा हो, त्यो विषयहरूलाई कानुनको कठघरामा ल्याउने प्रक्रिया जारी छ । दोषी र अपराधीहरू कानुनको कठघरामा छिट्टै आउँछन् ।’

सिण्डिकेट अन्त्य भएन ?, कालोबजारीहरूलई कारबाही भएन ? महँगी ह्वात्तै बढेको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘सिण्डिेकट अन्त्य भैसकेको छ । अब त्यसलाई व्यवस्थापन गर्ने काम बाँकी छ । र, त्यो चलिरहेको छ । अब छिट्टै यातायातमा भएको बेथिति, अराजकतालाई व्यवस्थित गरिनेछ । सिण्डिकेट कानुनतः अन्त्य भैसकेको छ । अब चाहीँ फेरी कसैले यातायातको क्षेत्रमा सिण्डिकेट लाद्न सक्दैन् ।’

मुलुकमा सुशासन कायम गर्न र जनताको जनधन दुवैको सुरक्षा गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेकोले उल्लेख गर्दै सरकारले सोही अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको मन्त्री थापाको भनाई छ । उनले भने,‘हामी त्यो काममा दृढतापूर्वक लागिरहेका छौं । म सम्पूर्ण लगानीकर्ताहरूलाई देशलाई समृद्ध गर्नमा उहाँहरूको भूमिका अझै वृद्धि होस् । र, उहाँहरूको लगानीको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो र हामी सुरक्षाको प्रत्याभुति गर्छौं भनेर भरोशा दिलाउन चाहन्छु ।’

सडक दुर्घटनाहरू दिनदिनै बढिरहेकोप्रति दुःख व्यक्त मन्त्री थापाले भने,‘यो दुर्घट्ना हुनुको पछाडि ठेक्कासम्बन्धी र यातायातसम्बन्धी नीतिमा कहीँ खोट छ की, सडक निर्माण गर्न दिईरहेको बेला कहीँ कतै त्रुटिहरू भएका छन् । अब त्यसलाई हामीले सच्याउन जरूरी छ । सडकहरूको अवस्थाबारे निर्माण व्यवसायीहरूको पनि धेरै हदसम्म जिम्मेवारी छ । नीतिगत रूपमा अब सच्याउनुपर्छ ।’

मन्त्री थापाले तिहारको शुभकामना दिँदै भने,‘सम्पूर्ण देशवासीहरूको सुख, समृद्धिको कामना गर्न चाहन्छु । राष्ट्रले राखेको लक्ष्यपनि त्यही हो । हामी यतिवेला समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा छौं । तिहार र आउने पर्वहरूले नेपाल र नेपालीहरूलाई सुखी बनाउन योगदान गरोस् । म यही कामना गर्न चाहन्छु ।’

त्यस्तै उनले तिहारको क्रममा देउसी–भैलो चलिरहेको बताउँदै भने,‘यसले देशको संस्कृतिलाई संरक्षण र प्रर्वद्धन गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। हाम्रो देशको संस्कृति र पहिचान सम्र्वद्धन होस् भन्नेपनि शुभकामना दिन चाहन्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org