ताजा समाचार

केशव स्थापितको आरोप– डोरमणि पौडेलको सीआईएसँग साँठगाँठ छ (भिडियोसहित)

काठमाडौं । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सिआईएसँग साँठगाँठ रहेको आरोप लगाएका छन् । उनले भने,‘ललितपुरको भैसेंपाटीमा उनको सयन कक्ष छ । उहाँको त्यो कार्यालय द एशिया फाउण्डेशनको फण्डिङमा फर्निसिङ गरिएको छ । त्यही भैंसेपाटीको घरमा उहाँले रसगुल्ला र रसपान गर्नुहुन्छ भन्छन् । तर, त्यो रसगुल्ला र रसपान के हो ? मलाई थाहा छैन् । त्यो अफिसको सबै स्टाफ र फर्निचरको फण्डिङ द एशिया फाउण्डेशनले गरेको छ ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार स्थापितले प्रदेश नम्बर ३ को अवधारणापत्र बनाउनको लागि पनि मुख्यमन्त्री पौडेलले ‘द एशिया फाउण्डेशन’ को आर्थिक सहयोग लिएको आरोप लगाए । उनले भने,‘यत्रो पैसा लिनुभन्दा पहिले केन्द्र सरकारको अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट स्विकृति लिनुपर्दैन् ? यो विषय मन्त्रालयमा छलफल भएको छैन् । मुख्यमन्त्रीले अहिले प्रदेश नम्बर ३ को योजना आयोगको शाखा कार्यालय त्यही भैंसेपाटीको घरलाई बनाएका छन् ।’ यो विषयलाई आफूहरूले अब संसद खुल्नेबित्तिकै जोडदारसँग राख्ने पनि उनले जानकारी दिए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मुख्यमन्त्रीले आफूलाई विभिन्न पार्टी डुलेर आएको कारणले कारबाही गरेको भनेको प्रसँग कोट्याए । उनले थपे,‘स्वयम् अहिलेको प्रधानमन्त्रीले मलाई मेरो खुट्टा भाँच्चिएको दिनमा डाकेर केशब तिम्रो र मेरो आन्द्रा गाँसिएको छ । तिम्रो मनको सपनाको एक प्रतिशत पनि दियौं भने यो मुलुक बन्छ भनेर म गएको हुँ । यो पूरानो ईस्यु हो । यसको कुनै सान्दर्भिकता छैन् ।’
मुख्यमन्त्री पौडेलविरूद्ध खनिएका उनले भने,‘सफलता र असफलताको कुरा उठाउने ? उहाँ हेटौंडाको १० वर्ष मेयर भएको मान्छे होईन, त्यहाँ सहिद पार्कबाहेक अरू के छ ? की त त्यहाँ ठींग्ग उभिने रूख छ । अशोकको बृक्ष । त्यो पनि साईनबोर्ड टाँस्नलाई राखेको जस्तो छ ।’
आफूले मुख्यमन्त्री पौडेललाई ईमानका साथ बोकेको पनि उनले स्पष्ट पारे । उनले भने,‘हाम्रोमा पार्टीभित्र गुट छ । मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हो । सभामुखमा पनि दाबी गरेको हो । अहिलेको डोरमणिको दाबी थिएन् । बरू अष्टलक्ष्मीको दाबी थियो । उहाँकहाँ गएर मलाई पूर्वाधार मन्त्री बनाउनु भनेर पौडेल हिँडेको हो । उहाँको हैसियत नै त्यही हो । त्यसपछि पार्टीभित्र चलखेल भएपछि भोटिङमा २४ र ३४ भयो । हामी सबै उपत्याकाले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो । तर, आज दम्भ देखाउने ? अहिले भर्खरै एउटा पत्रिकामा व्यंग्य आएको थियो । श्रीपेचको चोरी भनेर । यदि त्यो श्रीपेच चोरी भयो भने मेरो मुख्यमन्त्रीलाई लाईदिए भयो । अरे बाबा सर्वेसर्वा हुन्छ त ? संसद छैन । संविधानले व्यवस्था गरेको कुरालाई नाघेर हिँड्न पाईन्छ ?’
उनले मुख्यमन्त्री पौडेलले सिआईको पैसा लिएर जिल्ला–जिल्ला र क्षेत्र–क्षेत्रमा गएर कार्यक्रम सञ्चालन गरेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘सिआईएको पैसामा कार्यक्रम सञ्चालनमात्रै होईन, यहाँको सबै सूचना लिएर अनि सिआईलाइ समर्पण गर्ने मान्छे नेकपाको सदस्य हुन सक्छ र ?’
उनले भने,‘हिजो काग तिहार हो । अरूबेला लखेट्ने कागको तिहार छ । आज चाहीँ जहिल्यैपनि लात हान्ने कुकुरको दिन आईरहेको छ । हिजो अस्ती छेउ पर्न दिँदैन थियौं । तर, आज उनीहरूको त दिन आएका छन् । मुख्यमन्त्री त मान्छे नै हुन् । म त दयावान मान्छे हुँ । करूणाले भरिएको मन छ । सबै कुरा अहिल्यै नै छापिएपछि उनको निन्द्रा हराम होला । तिहारजस्तै लाग्दैन क्या । जीवजन्तुले त केही पाईरहेको बेला, उहाँ अजिव मान्छे हो । अहिले तिहार मनाउन दिनुपर्छ । फेरी टेन्शन हुन्छ।’
उनले आफूले जीवनमा कहिल्यैपनि कसैको दुव्र्यवहार नसहेको र नगरेको पनि स्पष्ट पारे । उनले भने,‘मुख्यमन्त्रीले मसँग बोल्दा टेबुल ठट्टाएपछि मैले पनि ठट्टाएको हुँ । मैले अनियमितता गरें भनेर आरोप लगाउनुभएको छ । ती आरोपहरू प्रमाणित हुनुपर्छ । उहाँले राजधानी सार्ने कुरामा पनि गलत अभिव्यक्ति दिनुभएको छ । प्रदेशको अधिकारविरूद्ध बोल्नुभएको छ । प्रदेश सभाको विषयलाई निजी विषय बनाउन मिल्छ ?’
मुख्यमन्त्रीले आफूलाई जिल्ला–जिल्ला किन घुमिस् भनेर प्रश्न सोधेको पनि उनले जनाए । स्थापितले भने,‘म त जिल्ला जिल्ला घुमिरहेकै छु, मन्त्रालयका योजनाहरूको अनुगमन गरिरहेको छु । कार्यालयहरू क्रियाशिल भएका छन् कि छैनन् भनेर पनि अनुगमन गरिरहेको छु । तर, उहाँले म जिल्ला जिल्ला घुमेर उहाँलाई मुख्यमन्त्रीबाट अपदस्थ गर्न लागेको भनेर आरोप लगाउनुभयो ।’
आफूले सम्हालेको मन्त्रालयको काम रफ्तारमा गरेको पनि उनले विश्वास दिलाए । उनले भने,‘यो आर्थिक वर्ष क्रियाशिल भएको चार महिना भयो । तर, मैले २७ अर्बको पाईपलाईनभित्र हालें । मैले पाएको १३ अर्ब हो । दुई अर्ब चाही विश्व बैंक र एडिबी बैंकले गर्छ । बाँकी ११ अर्बको हो, त्यो त मेरो काम सक्कियो । राजनीतिमा क्रियाशिलता देखेपछि त्यसलाई बिचमा रोक्नुपर्छ भन्ने हुँदो रैछ क्या ।’
मुख्यमन्त्रीले आफूलाई राखेर तपाईको पर्फर्मेन्स जिरो छ भनेको सुनाउँदै उनले भने,‘उहाँले तपाईको पर्फर्मेन्स जिरो छ भन्नुभयो, तर मैले उहाँलाई मेरो त कामै सक्कियो भनिदिएँ । म कृषिमन्त्री भएको भए च्याङ्ग्रा किनेर ल्याउँथे र बाडिदिन्थे । यो पुल, सडकहरूको काम भनेको त टाईम टु टाईम हुन्छ । त्यसको चाहीँ खरिद ऐन आकर्षित हुन्छ।’
उनले आफूलाई चीनमा एउटा बैठकमा भाग लिन जान लाग्दापनि मुख्यमन्त्रीले जान नदिएको आरोप लगाए । उनले भने,‘मैले त धिमाल, कुमालदेखि माझी बस्तीमा गएर भनेको छु, म कुन बस्तीमा पुगेको छैन र ? भनेपछि उहाँले मलाई तपाई काम नलाग्ने मान्छे भनेर सुरूमा आरोप लगाउनुभयो । जिरो पर्फर्मेन्स भन्नुभयो । जिल्ला जिल्लामा गएर सांसदहरूलाई प्रभावित गरेर मुख्यमन्त्री नै खत्तम गर्न लाग्नुभयो भन्नुभयो, तर मैले उहाँलाई तपाई आफ्नो विवेक प्रयोग गर्नुहोस् भनेको हो । मैले उहाँलाई हटाए हुन्छ भनेर भनेको हुँ ।’
आफूले साँढे चार अर्बको त डेडलाईन फर्ममा १६ वटा बाटा र ६ वटा पुल बनाउने भनेर यो साल खर्च हुनेभयो भनेको स्थापितले सुनाए । उनले भने,‘दोस्रो चरणमा ई.ओ.आई. हुने, दशैंलगत्तै मैले जलस्रोत र सिचाईको मान्छे पाएँ । यातायातको अहिले १० लाख फाईल एक ठाउँमा छ । काम भैरहेको छैन् । सबै कर्मचारीहरूले हामीलाई काम दिनुहोस् । उपर्युक्त जिम्मेवारी दिनुहोस् भन्नुभएको छ। संगठन अझैसम्म बनेको छैन् । कर्मचारी पाएको छैन् । केन्द्रबाट कानुन आउनुपर्छ भन्छन् । मैले भनें नमुना कानुनमा मुनापनि आउँदैन् । केन्द्रबाट ट्रकमा हालेर मुन पठाएपनि हेटौंडामा आउँदा मर्छ।’
मुख्यमन्त्रीले गरिबको लागि २० करोडको आवास बनाउने भनेर भनेपनि पूर्वाधारको यत्रो रकम मुख्यमन्त्रीले कब्जा गर्न लागेको हो भन्दै उनले प्रश्न गरे । उनले थपे,‘पूर्वाधारको काम हो भने त पूर्वाधारमा पठाउनुपर्यो । तर, उहाँले त्यो २० करोडमा त भर्खरै कार्यविधि ल्याउँदैहुनुहुन्छ क्या। मान्छे नियुक्त भएको छैन् । उहाँको हकमा चाहीँ भर्खर कार्यविधि ल्याउनुपर्ने र केशब स्थापितको हकमा चाही पहिल्यै ल्याउनुपर्ने । यो असमानता हुनुले कुनै अर्थ राख्दैन् ।’
आफूले मुख्यमन्त्रीलाई तपाई दलाई लामा बन्न पाउनुहुन्न भनेको पनि उनले सुनाए । स्थापितले भने,‘उहाँले मलाई तपाई काम नलाग्ने भनेपछि मैले तपाईले सक्नुहुन्छ भने हटाउनुहोस भनेकै हो । चर्काचर्की परेकै हो । उहाँले तपाई कामै नलाग्ने भनेर टेबुल ठट्टाएपछि मैले पनि टेबुल ठट्टाएकै हो । उहाँले अनियमितता गर्यो भन्नुभयो त्यो प्रमाणित हुनुपर्छ । संसदमा त मारामार हुन्छ । टेबुल ठट्टाउनु ठूलो कुरा होईन् ।’
उनले अब नेकपामा २४ र ३४ को समिकरण नरहने जिकिर गरे । उनले भने,‘अब समिकरण रहनै सक्दैन् । उहाँले मलाई मन्त्रीबाट हटाएकोमा कुनै गुनासो छैन । अब समिकरण भत्कियो है ।’
उनले प्याङ्क्रियाजको काम जीवन रस निकाल्ने रहेको सुनाउँदै भने,‘प्याङ्क्रियाजले हामीलाई चाहिनेजति सबै रस निकाल्छ । केही फ्याक्ट्री आउँछ । विदेशी आउँछ । साम्राज्यवादीले के गर्छ भने आफ्नो कुरा खुवाँउछ । यसो भैसकेपछि हाम्रो प्याङ्क्रियाजले के भन्छ भने अब विदेशी नै आएपछि मेरो काम छैन भन्छ । उ थाक्छ । अनि थाकेपछि त्यो ईन्सुलिन नखाईकन हामी जोगिन सक्दैनौ नि । यो सिआईएको अहिलेको म्यापिङ गरेको भनेको हाम्रो क्षमता, योग्यता, हाम्रो यहाँ गहिराईमा भएको कुरा सबै ध्वस्त बनाउन भैरहेको छ । त्यसको अगाडि डिफेण्ड गर्नुपर्दैन् ? मैले सदाबहार रूपमा यो कुरा उठाएँ । त्यसैले मैले सारमा भनेको छु यो पदमा बस्न उहाँ योग्य हुनुहुन्न । यसलाई अब पार्टीको गम्भिर विषय बनाईन्छ ।’
प्रधानमन्त्री विरामी भएर आईसियुमा भर्ना भएको बेला मुख्यमन्त्रीले हतार गरेर आफ्नो कुरा सुनाएको उनको आरोप छ । उनले भने,‘ईन्फेक्शन हुन्छ भन्दापनि उहाँले आफ्नो कुरा सुनाउनुभयो । अलिकतिपनि मानवताको कुरा छैन् । मैले हजारौं योजनाहरू बनाएको छु । उचाईमा पुर्याएको छु । प्रत्येक जिल्लामा एक सयदेखि २ सयसम्म योजनाहरू पुर्याएको छु । उहाँले जनतामा पलाएको विश्वासलाई हत्या गर्नुभएको छ । अनि हत्या गर्नेलाई के भन्ने ? मसँग शब्द छैन् ।’
अब संसदमा तपाईको भूमिका के हुन्छ भनेर सोधेको प्रश्नमा उनले भने,‘यस्तो हुँदो रैछ क्या, मैले हिजो काठमाडौं महानगरपालिकाको मेयरको लागि दाबी गरेको थिएँ । त्यो बेला मेयर भएँ, भएँ, भएँ भन्ने भयो । पछि भईन भन्ने भयो । मनको तितो खत्तम गर्नका लागि कडा कफी खाएँ घरमा गएँ अनि सुतें । मन्त्री छोडेको भोलिपल्ट मैले भोगें । पार्टीको अनुशासन यही हो । मेयर छोडेपछि मलाई मन्त्री त आयो नि । अब अहिले मन्त्रीबाट खाली भएपछि अर्को ठाउँ त सिर्जना भयो होला नि ।’
आफूले मुख्यमन्त्री पौडेलविरूद्ध अब प्रतिवाद सुरू गरेको पनि स्थापितले सुनाए । उनले भने,‘अहिले तिहार छ । मैले उहाँको उमेरको सम्मान गर्नुपर्छ ।’ यद्धपी उनले आफूले अहिलेसम्म जीवनमा कहिल्यैपनि दमन नसहेको सुनाए । उनले भने,‘तत्कालिन् राजा ज्ञानेन्द्रले मलाई निवासमै बोलाएर छलफल गर्नुभयो । उहाँले मलाइ राजतन्त्रको भविष्य के छ भनेर सोध्नुभयो ? मैले सूरूमा बोल्दिन भनें । तर, उहाँले बोल्न भनेपछि राजतन्त्रको भविष्य छैन भनिदिएँ ।’
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हुँ । राजा ज्ञानेन्द्रसँग डराइन भने त्यही पारा देखाउने डोरमणिसँग किन झुक्ने ?– उनको प्रश्न थियो ।
फरक प्रसँगमा उनले आफू महिलालाई सत्कार गर्ने मान्छे भएको प्रतिक्रिया दिए । उनले भने,‘मैले लञ्च अफर गर्दा के गलत भयो ? म त खाना मिठो बनाउँछु । कफी मिठो बनाउँछु । जसले मलाई हिंसा गर्यो भनेर आरोप लगाउनुभएको छ, उहाँ पूरानो पत्रकार भन्नुहुन्छ । १५ वर्ष पहिले यो घट्ना घटेको भन्नुभयो । अस्ति फेरी ६ वर्ष पहिले भन्नुभयो ।’
उनले भने,‘मलाई रश्मिला प्रजापातिले आरोप लगाउनु भएको छ । अब मानहानी हाल्छु । सि विल बी बुक्ड । मैले कानुनी सल्लाहकारसँग सल्लाह गरिसकेको छु । मेरो मानहानीमात्रै भएको छैन । धेरै कुरा भएको छ । तिहारपछि म कानुनी उपचारमा जान्छु । उहाँको सम्पत्ति विवरण कति छ, नभएको भन्दा बढि बिगो त दाबी गनुभएन । र, केही दर्ता नभएका अनलाईनहरू पनि । म त र्याम्बो शैलीको मान्छे हुँ । म थाक्ने मान्छे होईन् ।’

 

https://www.youtube.com/watch?v=-_FDlRxyaGA&t=612s

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org