ताजा समाचार

हनुमन्ते सफाइ अभियानको ३७ औँ हप्ता, छ टन फोहोर सङ्कलन

भक्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३७औँ हप्ता छ टन फोहोर सङ्कलन भएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानका क्रममा आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित पुल क्षेत्र र खोलामा सरसफाइ गरिएको थियो ।

सफा, सुन्दर भनिने भक्तपुर नगरपालिका क्षेत्रमा रहेको यो पुलबाट मात्रै छ टन फोहोर सङ्कलन भएको र अझै फोहोर बाँकी रहेकाले अर्को दिन पुनः सफाइ गरिने सफाइ अभियन्ताले बताएका छन् ।

सफाइमा प्रतिनिधिसभा प्रदेशसभा सांसद सरस्वती बाटीले हनुमन्तेमा फोहोर फाल्न तथा ढल मिसाउन रोक्नुपर्ने बताए । उनले भक्तपुर नगरपालिकाले यसमा अटेर गरेको, नगरको फोहोर सिधै हनुमन्तेमा मिसाएको र नदीमा फोहोर फाल्न रोक नलगाउँदा हनुमन्ते सफाइ अभियानमा चुनौती थपिएको बताए ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरलगायतले हनुमन्ते नदी सबैको साझा नदी भएको बताउँदै यसको सफाइमा सबै नगरपालिकाको सहभागिता हुनुपर्ने बताइन् ।

विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आज जिल्लाका विभिन्न सङ्घसंस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ता गरी २७६ जनाकोे सहभागिता रहेको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिइन । अभियानमा अहिलेसम्म ३१६ टन फोहोर सङ्कलन भएको उनले बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org