ताजा समाचार

दण्डहीनता अन्त्यका लागि राजनीतिक दल अग्रसर हुनुपर्ने

पोखरा ।  सञ्चारकर्मीलाई सुरक्षाको प्रत्याभूतिका साथै सहज ढङ्गले काम गर्ने वातावरण सृजना हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ ।

फ्रिडम फोरमद्वारा आज पोखरामा आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक अन्तरक्रियामा दण्डहीनता अन्त्यका लागि राजनीतिक पार्टीलाई गम्भीर हुनुपर्ने, पत्रकारलाई सधँै मानसिक त्रास, धम्की र भौतिक आक्रमणजस्ता घटनाबाट पीडित हुनुपर्ने भएकाले कुनै पनि बहानामा दोषीलाई उन्मुक्ति दिन नहुने, पत्रकारहरुमा पनि देखिएका कमीकमजोरीमा सुधार ल्याउनुपर्ने र पत्रकारहरुबीच ऐक्यबद्धता आवश्यक रहेको विषयमा सहभागीहरुले सुझाव दिनुभएको छ ।

सो अवसरमा प्रजिअ चक्रबहादुर बुढाले विकृति र विसङ्गतिलाई उजागर गर्ने काम सञ्चारकर्मीले गर्दै आइरहेको भन्दै मानवअधिकार हनन नहुन दिनका लागि सुरक्षाकर्मीलाई सधैँ सचेत गराउने कार्य भइरहेको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग पोखराका प्रमुख दीपकध्वज कार्कीले पत्रकारहरु अझै असुरक्षित रहेको प्रसङ्ग उल्लेख गर्दै तुलनात्मक रुपमा सीमावर्ती क्षेत्रका पत्रकारहरु धम्कीलगायत कारणले बढी पीडित रहेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले दण्डहीनता गर्नेमाथि कडा कारवाही हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै समाजलाई सचेत गराउने जिम्मेवारी बोकेकाले पत्रकारहरुलाई खतरा मोलेर भए पनि कार्य गर्नुपर्ने बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक नवीन कार्कीले लोकतन्त्रको सुन्दर पक्षका रुपमा प्रेसको स्वतन्त्रता र कानूनी राज्य रहेको भन्दै पत्रकारहरुप्रति कुनै प्रकारको प्रहरीबाट भएको ज्यादतिप्रति दुःख व्यक्त गर्दै कसैले पत्रकारलाई धम्की दिएमा तुरुन्त खबर गर्न आग्रह गर्नुभयो ।

पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारको दुव्र्यहारलगायत घटनामा महासङ्घले गम्भीर भएर आफ्नो जिम्मेवारी बहन गरेको जानकारी गराउँदै पत्रकारलाई दुव्र्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरी कारवाही गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

शान्तिका लागि नागरिक समाज सञ्जाल कास्कीका संयोजक विष्णुप्रसाद बरालले दण्डहीनता अन्त्यका लागि नागरिक समाज, राजनीतिक दल, प्रहरी, प्रशासनलगायत सबैलाई मिलेर कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पत्रकार बिना सिलवालले पत्रकारहरु पनि राजनीतिक दलहरुसँग जोडिएको कारण कुन संस्थाका पत्रकार पिटिएको भावना देखिएको कारणले पत्रकारहरुबीच ऐक्यबद्धता हुनुपर्ने विषयमा जोड दिनुभयो ।

पोखरामा पीडित बन्नुभएका पत्रकार उत्तम पौडेल र प्रकाश ढकालले पत्रकारमाथि दुव्र्यवहार गर्नेमाथि कारवाही नगरी मिलेमतोमा माफी मगाएर छोड्नुको सट्टामा मुद्दा दर्ता गरी कारवाही हुनुपर्ने माग राख्नुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org