ताजा समाचार

पुस्तक अंशः गिरिजाले सांघातिक हमला गराए

जेलबाहिर निस्केपछि काङ्ग्रेस पार्टीले मेरो खाने-बस्ने व्यवस्था नगरेकाले फारबिसगन्ज, पटना र दिल्लीमा भएका जान-पहिचानका व्यक्तिबाटै गुजारा गर्नुपर्ने भयो । फारबिसगन्ज-पटना रेलमा हिँड्न मलाई समस्या थिएन । बिहारका विधायक सर्जुबाबुले आफ्नो सहयोगीले पाउने रेलवे पास मलाई दिनुभएको थियो । यसले गर्दा रेलमा मैले टिकट लिन, पैसा तिर्न पर्थेन ।

यसरी नै पटना पुगेका बेला एकपटक अचानक भाइ युवराज घिमिरेसँग भेट भयो । उनी आईएस्सी सकेर मेडिकल पढ्ने अवसरको खोजीमा पटना आएका रहेछन् । सांसद रामविलास पासवानका भाइ विधायक पारश पासवानको सरकारी निवासमा उनीसँग भेट भयो । हामी सँगसँगै घुमफिर गर्न थाल्यौँ । एक दिन म र युवराज मेरो पूर्वपरिपचित पत्रकार एवं समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) का पट्ना ब्युरो चिफ टीएन झाको अफिस पुग्यौँ । मैले युवराजलाई झाजीसँग पटना कलेजका विद्यार्थीका रुपमा परिचय गराएँ । उहाँले मजाक गर्दै भन्नुभयो, ‘अरे महाराज ! युवराज हो के आप भी राजा के विरोधी हैं ?’

युवराज लजालु स्वभावका विनम्र मानिस भएकाले केही बोलेनन् । चिया-नास्ता गरेपछि झाजीले आफ्नो अफिसमा बेलुका दुई बजेपछि समय बिताउन आए हुन्छ भन्दै बिदा गर्नुभयो ।

१० फागुन २०३६ को बिहान १० बजेतिर म जोगवनी रेल्वे स्टेसनको पत्रिका पसलमा उभिइरहेको थिएँ । वसन्त भट्टराई र उमेश गिरीले अचानक ममाथि साङ्घातिक हमला गरे । उमेश गिरीले रड निकालेरै हाने

त्यसपछि हामी पनि साँझपख दैनिकजसो त्यहाँ जान थाल्यौँ । पत्रकार झाजी अत्यन्तै मिजासिलो, हँसिलो र निश्छल व्यक्ति भएकाले एक दिन मैले कुरै कुरामा भनेँ, ‘युवराजजी मेधावी र समझदार विद्यार्थी छन् । स्मरणशक्ति पनि राम्रो छ । स्वाधीन विचारका छन् । डाक्टर बन्न चाहन्थे, तपाईं पत्रकार बनाइदिनूस् ।’

झाजीले युवराजतर्फ हेर्दै ‘टाइप गर्न सिक्ने हो ?’ भनेर सोध्नुभयो ।

उनले मलिन स्वरमा ‘हुन्छ’ भने । अनि, उहाँले पूणिर्या जिल्लामा भएको एउटा सानो घटनाको खबर टाइप गर्न लगाउनुभयो । युवराजजीले पत्रकार जीवनमा प्रवेश गर्दाको पहिलो दिनको पहिलो खबर थियो त्यो । टाइप गरेको कागज हेरेपछि झाजीले युवराजलाई धाप मार्दै भन्नुभयो, ‘आप तो काम के आदमी हैं, दैनिक आइए ।’ (तपाईं त काम लाग्ने मानिस हुनुहुँदो रहेछ, दिनहुँ आउने गर्नूस्) । त्यसपछि युवराज नित्य यूएनआईको अफिस जान थाले । म दिल्लीतर्फ लागेँ ।

पछि युवराजले भारतमै पत्रकारितामा नाम कमाए । ‘इन्डिया टुडे’, ‘आउटलुक’जस्ता म्यागजिनमा काम गरे । ‘बीबीसी’मा काम गरे । नेपाल फर्किएर ‘कान्तिपुर’ दैनिकको सम्पादक बनेपछि नेपालमा पनि उनी प्रतिष्ठित पत्रकार बने ।

फारबिसगन्जबाट पत्रिका प्रकाशन

जीवनको कुनै निश्चित मुकाम थिएन । कुनै निश्चित काम, जागिर वा अफिस थिएन । न त नियमित आम्दानीको कुनै बाटो थियो । घर-परिवारसँग सम्पर्क, सम्बन्ध टुटिसकेको थियो । विवाह भएको थिएन । न कसैसँग प्रेम-सम्बन्ध थियो । जुन पार्टीका लागि प्राण दाउमा राखेर काम गरिएको थियो, त्यसबाटै अलग र उपेक्षित भइसकिएको थियो । जेल बसेर तारेखमा निस्किएकाले पहिलेजस्तो पुलिसले समाउँछ कि भन्ने डरचाहिँ थिएन । मेरो जीवन यसरी नै दिल्ली, बनारस, पटना र फारबिसगन्जतिर हल्लिँदैमा बित्छ कि जस्तो लाग्न थालेको थियो ।

फारबिसगन्ज, अररिया अदालतमा तारेखमा उपस्थित हुनका लागि म पटना हुँदै त्यता गएँ । पटनामा युवराज घिमिरेको कुनै निश्चित वासस्थान थिएन । विधायक पारश पासवानको निवासमा शरणार्थीका रुपमा बसोवास थियो । मरेलबाट फारबिसगन्ज जाने क्रममा युवराजलाई भेट्न पटनाको फेजर रोडस्थित समाचार संस्था युनाइटेड न्युज अफ इन्डिया (यूएनआई)को अफिस पुगेँ । युवराज विगत तीन महिनादेखि बिनापारिश्रमिक कार्यालयमा आएर नियमित काम गरिरहेका थिए । म पुगेको दिन साँझ ब्युरो प्रमुख टीएन झाले हामी दुवैलाई खाजा मगाउँदै भन्नुभयो, ‘युवराजजीलाई मैले बिना मजदुरी काम लगाइरहेको छु । उहाँमा पत्रकार बन्ने प्रतिभा छ । राम्रो प्रगति गर्दै हुनुहुन्छ । अबचाहिँ तलबी पत्रकार बनाउने व्यवस्था मिलाउँदै छु ।’

त्यस दिन राति म युवराजसँगै बसेँ । रातभरि भूमिगत बस्दा भेटेका मानिस र भोगेका घटनाबारे चर्चा भयो । बनारसमा म बाबा अवधूतरामको आश्रममा पनि लुकेर बसेको र उनीसँग भएको सङ्गतबारे कुरा गर्दा युवराजले पनि बाबालाई भेटेको कुरा सुनाए ।

बाबा सिद्धपुरुष हुन् भन्ने उनको धारणा थियो । त्यसैले उनी त्यहाँ आउनेजाने गर्दा रहेछन् । एक दिन कुरा चल्दा बाबाले युवराजलाई भनेका रहेछन्, ‘यो आश्रममा एक जना नेपाली केटा थियो । उसलाई मैले चरण सिंह नाम दिएको थिएँ । तर, यहाँबाट हिँडेपछि भने खै किन हो, मलाई खुब गाली गरेछ ।’

मैले युवराजजीलाई म नै चरण सिंह भएको बताएँ ।  युवराजले अवधूतराम बाबालाई सिद्धपुरुष मानेर उनको फोटो पनि राखेका रहेछन् । बाबा अवधूतरामका प्रशंसक पत्रकार युवराजसँग केही दिन बिताएर म पटनाबाट आफ्नो मुद्दाको तारेख खेप्न अररिया अदालततर्फ लागेँ ।

फारबिसगन्जबाट सुशील कोइरालासहितका साथीहरु तारेखका दिन मुद्दाको बहस पैरवी गर्ने विनय सिंह वकिलका साथ अदालत कम्पाउन्डमा उपस्थित भए । हामीलाई उसैगरी फेरि कम्मरमा डोरी बाँधियो । यसपल्ट अदालतका कर्मचारीलाई पैसा दिएर सुशीलले अलि लामो तारेख दिने व्यवस्था मिलाएका रहेछन् । तीन महिनापछिको तारेख पाएपछि म विर्जुबाबुको बङ्गला जगदीश मिल गएर बसेँ।

त्यसबेला फारबिसगन्जमा बसेका काङ्ग्रेसीजनहरु जोगवनी रेल्वे स्टेसन र त्यहाँका चिया पसलहरुमा दैनिकजसो गएर देशभित्रका आफ्ना मित्रजनहरुसँग भेटेर समय बिताउने र सहयोग पनि प्राप्त गर्ने गर्थे । जोगवनी आउन र जानका लागि रेलका गार्डहरुलाई भेटेर नेपाली काङ्ग्रेसका निर्वासित कार्यकर्ताका रुपमा परिचय दिएपछि टिकट पनि लिनु पर्दैनथ्यो । यसरी बिनाकाम फारबिसगन्ज र जोगवनी घुमेर दिन बिताउनुभन्दा भारतीय समाचार पत्रहरुमा लेख लेख्न प्रारम्भ गरेँ ।

‘टाइम्स अफ इन्डिया’को हिन्दी प्रकाशन ‘दिनमान’ साप्ताहिकमा मैले पहिले पनि नेपालबारे लेखिसकेको थिएँ । सम्पादक रघुवीर सहायले मलाई नेपालको राजनीतिबारे लेख्न प्रेरित गरिरहनुहुन्थ्यो । एउटा लेखको दुई सय भारु पाउने हुँदा मेरो कमाइको स्रोत पनि भयो । कलकत्ताबाट प्रकाशित हुने हिन्दी साप्ताहिक ‘रविबार’ पनि नेपालमा चर्चित थियो । त्यसमा पनि मेरा लेख प्रकाशित हुन्थे ।

बीपी नेपाल फर्किएपछि बनारसबाट प्रकाशित हुने ‘तरुण पत्र’ बन्दजस्तै भयो । त्यसैले देशभित्र घटेका दमनकारी घटनाका बारेमा सुसूचित गर्नका लागि मैले फारबिसगन्जबाट ‘नयाँ नेपाल पुकार’ पाक्षिक बुलेटिन प्रकाशित गर्न थालेँ । २४ साउन २०३५ मा प्रकाशित भएको त्यस बुलेटिनमा कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको पार्थिव शरीरलाई नेपाल लैजान नदिइएको र अमेरिकामा स्वास्थ्य उपचार गरेर बीपी कोइराला दिल्ली फर्किएको लगायत समाचार छापिएका थिए ।

गिरिजाप्रसादले गराए हमला

यो बुलेटिन २०३७ सालसम्म निरन्तर प्रकाशित भयो । मैले प्रवासमा बसेर समाचारपत्र प्रकाशित गर्न थालेको कुरा गिरिजाप्रसाद कोइरालालाई मन परेको थिएन । म पार्टीबाट अलग भइसकेको थिएँ । उनले पार्टीले गरेका कार्यक्रम र बन्दोबस्तमा मलाई सामेल गराउन छोडिसकेका थिए । तर, यही बुलेटिनकै कारण उनले ममाथि साङ्घातिक हमला नै गराउँछन् भन्ने मैले सोचेको थिइनँ ।

२०३६ फागुन महिनाको पहिलो हप्ताको अङ्कमा मैले बीपी र राजाको राजनीतिक विचारका सम्बन्धमा एउटा कार्टुन छापेको थिएँ । त्यस कार्टुनलाई निहुँ बनाएर ममाथि भौतिक कारबाही गर्न गिरिजाबाबुले साथीहरुलाई निर्देशन दिएको कुरा विनोद अर्यालका भाइ मुन्नुले मलाई सूचित गरेका थिए ।

 

उनले सूचित गरेको एक-दुई दिनमै ममाथि आक्रमण भयो । १० फागुन २०३६ को बिहान १० बजेतिर म जोगवनी रेल्वे स्टेसनको पत्रिका पसलमा उभिइरहेको थिएँ । वसन्त भट्टराई र उमेश गिरीले अचानक ममाथि साङ्घातिक हमला गरे । उमेश गिरीले रड निकालेर हाने । त्यति धेरै मानिसको भीडमा हमला भएपछि होहल्ला भयो, रेल्वेका पुुलिस आए । उनीहरुले घेरा हालेर हमलाकारीलाई स्टेसनबाट बाहिर निकाले । अनि, म जोगिएँ । त्यहाँको पुलिसले रिपोर्ट लेखाउन स्टेसन जाऊ भन्दै थियो । तर, म गइनँ । मैले ‘यो राजनीतिक विवाद हो, रिपोर्ट लेखाउनुको अर्थ छैन’ भनेँ । रेल्वे पुसिलले एक जना हवल्दार खटाएर मलाई डेरासम्म पुर्‍याइदियो ।

वसन्त र उमेश मेरा विराटनगरदेखिका साथी । वसन्त, म र नगेन्द्र मिलेर जहाज अपहरण गरेका थियौँ । वसन्त सुरुदेखि नै गिरिजाप्रसादका प्रिय थिए । तैपनि, क्रान्तिमा सँगै हतियार उठाएका उनले मलाई नै आक्रमण गर्लान् भन्ने लागेको थिएन । गिरिजाबाबुले मेराविरुद्ध उनलाई निकै भड्काएका थिए । पहिला पनि ओखलढुङ्गा काण्डका बेला मैले पठाएको चिठी देखाएर वसन्तले उमेशहरुलाई भड्काएका थिए । गिरिजाबाबु त मलाई त्यसैबेला कारबाही गर्न चाहन्थे, बीपीले बचाएर म जोगिएको थिएँ ।

यो हमलापछि भारत सरकारले मेरो सुरक्षाका लागि एक जना हबल्दार बडीगार्डका रुपमा खटायो । हरदम पुलिस साथै हुने भएपछि मैले नेपाल आउने-जाने गर्न नपाउने भएँ । किनभने, मेरो जमानतमा भारत छोडेर बाहिर जान नपाउने भनिएको थियो । म दिल्ली, पटना जहाँ गए पनि बडीगार्ड सँगसँगै हिँड्थ्यो । यो त मेरो बडीगार्ड होइन, जासुसजस्तो हुन पुग्यो । मैले कसैलाई भेट्नुअघि दुईपटक सोच्नुपर्ने भयो ।

नेपालमा २०३६ सालमै भएको विद्यार्थी आन्दोलनको बलमा जनमतसङ्ग्रह हुने भएपछि गिरिजाप्रसाद कोइरालाहरुले १ वैशाख २०३७ मा आममाफी पाए । जनमतसङ्ग्रहको दुई हप्तापहिले उनीहरु पटनाबाट काठमाडौँतर्फ लागेपछि बल्ल मलाई पुलिस निगरानीबाट मुक्त गरियो । दुई महिनाजति त्यो पुलिसलाई झेलेपछि म स्वतन्त्र भएँ ।

जुन कार्टुनलाई निहुँ बनाएर ममाथि साङ्घातिक आक्रमण भयो त्यो कार्टुनलाई मैले त्यसपछि पत्रिकाका हरेक अंकमा छापें । २०३७ सालको अन्त्यसम्म प्रत्येक अङ्कमा त्यो कार्टुन छापियो ।

(नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको हालै प्रकाशित आत्मकथा ‘विमान विद्रोह’बाट सम्पादनसहित साभार)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org