ताजा समाचार

मंसीर १ बाट ६ लाख कर्मचारीलाई रु १० लाखको स्वास्थ्य बिमा

काठमाडौं । कर्मचारी सञ्चय कोषले मंसिर १ गतेदेखि लागू हुने गरी ६ लाख सञ्चयकर्ताको सामूहिक स्वास्थ्य बिमा गर्ने भएको छ । कोषले प्रत्येक सञ्चयकर्ताको रु १० लाखसम्मको स्वास्थ्य बीमा गर्न लागेको हो ।

कोषले यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग ३ वर्षे समझदारीपत्रमा हस्ताक्षरसमेत गरेको छ । समझदारी पत्रअनुसार मङ्सिर १ गतेदेखि कोषका ६ लाख सञ्चयकर्ता यसबाट लाभान्वित हुनेछन् ।

यो व्यवस्था लागू भएपछि सञ्चयकर्ताले साधारण औषधोपचारमा रु १ लाखसम्म र घातक रोगको उपचारमा रु १० लाखसम्मको खर्च दाबी गर्न सक्नेछन् । साथै, यसअन्तर्गत दुर्घटना बीमा पनि समेटिएको छ । बीमा योजनाअनुसार सरकारी निकायका पुराना र नयाँ सञ्चयकर्ताहरू स्वतः बीमाको दायरामा आउनेछन् । यद्यपी, निजीक्षेत्रका सञ्चयकर्ताहरूको हकमा कम्तीमा ६ महीनासम्म नियमित कोषमा रकम जम्मा गरेको हुनुपर्ने समझदारीपत्रमा उल्लेख छ ।

पहिलो वर्षका लागि प्रति सञ्चयकर्ता रु ४ सय २० का दरले जम्मा रू। २५ करोड २० लाख बीमाशुल्क निर्धारण गरिएको छ । तोकिएको बीमाशुल्क कर्मचारी सञ्चय कोषले भुक्तानी गर्नेछ । मुनाफाबाट तोकिएको बीमाशुल्क भुक्तानी गरिने कोषको भनाइ छ । यद्यपि, बीमालेख नवीकरण गर्दा अघिल्ला वर्षका दाबी भुक्तानी र सञ्चयकर्ताको सङ्ख्याको आधारमा बीमाशुल्क परिवर्तन हुनसक्ने कोषले बताएको छ ।

कार्यक्रममा कोषका प्रशासक तुलसी गौतमले नेपालीको अत्यन्त कमजोर स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी यो बीमा योजना ल्याएको बताए । आगामी दिनमा यस बीमा योजनालाई थप प्रभावकारी बनाइने उनको भनाइ छ । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले अनलाइन प्रणाली मार्फत् योजनालाई अझ प्रभावकारी बनाइने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org