ताजा समाचार

डा.बाबुराम भट्टराईको लेख : सरकारमा खोइ दायित्वबोध ?

नेपाली इतिहासकै सम्भवतः सबैभन्दा बलशाली सरकार बनेको नौ महिना पुग्दै छ । परन्तु संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि विकास र समृद्धिको नयाँ युगको नेतृत्व गर्ने पेक्षासहितको सरकारबाट जनता अत्यन्त निराश बन्न पुगेका छन् ।

यसबीचको अवधिमा सरकारले जुन आफ्नो युगीन कार्यभार हो त्यसको एउटा स्पष्ट दिशा प्रस्ट्याउन सक्नुपथ्र्यो । नेपाली जनता जो गरिबी र बेरोजगारीको दुश्चक्रमा फसेका छन्, त्यसबाट मुक्त हुन सकिन्छ भन्ने स्पष्ट मार्गचित्र जनतालाई देखाउन सक्नुपर्थ्याे ।

नेपालको जातीय, क्षेत्रीय विधतासहितको जुन इन्द्रधनुषी राष्ट्रिय चरित्र हो, सबै नेपालीले आ–आफ्नो अनुहार यो सरकारमा देखेर राष्ट्रिय एकता मजबुत हुनुपर्थ्याे ।

नेपालको अत्यन्त संवेदनशील र तीव्र गतिमा बदलिँदै गएको जुन भूराजनीति छ त्यसबाट लाभ लिएर नेपालले एउटा गुणात्मक फड्को मार्न सक्छ भन्ने सन्देश दिन सक्नुपर्थ्याे । समग्रमा नेपाली जनतालाई तीव्र परिवर्तनको आशाको ज्योति देखाउन सक्नुपर्थ्याे ।

यस क्षेत्रमा सरकारले अत्यन्त कमजोर प्रस्तुति देखाएको मात्र होइन, जनतालाई पूर्ण निराश पार्ने काम गरिरहेको छ । यो किन भयो, कसरी भयो भन्ने विषयको गम्भीर विश्लेषणसहित संश्लेषण गर्नु आजको आवश्यकता हो ।

पहिलो, यो सरकारले आफ्नो युगीन दायित्वको बोध गराउनका निम्ति वैचारिक, राजनीतिक वा दार्शनिक रूपमा आफ्नो प्रस्ट मार्गचित्र देखाउन सक्नुपर्थ्याे । किनकि हिजो दोस्रो विश्वयुद्धपछिको तेस्रो विश्वका देशमा जुन राष्ट्रिय मुक्ति र लोकतान्त्रिक आन्दोलनको चरण थियो त्यसमा नेपाली जनताले थुप्रै त्याग र बलिदान गरेर यो बिन्दुसम्म आइपुगेका हुन् ।

अब नेपाली जनताको एउटै चाहना र आवश्यकता भनेको अत्यन्त पिछडिएको आर्थिक, सामाजिक अवस्थालाई गुणात्मक ढंगले रूपान्तरण गर्ने र नेपाललाई तेस्रो विश्वबाट पहिलो विश्वमा पुर्‍याउने हो ।

त्यो तेस्रो विश्वबाट पहिलो विश्वमा पुर्‍याउनका निम्ति जुन राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणसम्बन्धी सोचको प्रस्टता यो सरकारमा हुनुपर्थ्याे , त्यो पटक्कै देखा परेन ।

त्यसैले वैचारिक, राजनीतिक अस्पष्टता नै यो सरकार असफलताको प्रमुख कारण हो । कम्युनिस्ट पार्टीहरूले दोस्रो विश्वयुद्धपछि राष्ट्रिय मुक्ति आन्दोलन र सामन्ती निरंकुशताविरोधी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकै हुन् । तर, अहिले युग परिवर्तन भएको छ ।

अबको मुख्य कार्यभार सामन्तवादी अर्थतन्त्रलाई औद्योगिक पुँजीवादी अर्थतन्त्र हुँदै नयाँ ढाँचाको समाजवादी अर्थतन्त्रसम्म पुर्‍याउनु हो । त्यसका निम्ति पछिल्लो ज्ञान–विज्ञान र प्रविधिको उच्चतम प्रयोग र स्वदेशी तथा विदेशी पुँजीको व्यापक परिचालन गरी पहिलो चरणमा पुँजीवादी उत्पादक शक्तिको विकास गर्नैपर्छ ।

त्यसका निम्ति पुरानो चरम नियन्त्रणमुखी कम्युनिस्ट ढाँचाले हुँदै हुँदैन । परन्तु यो सरकारले पुरानैखाले कम्युनिस्ट पार्टीको आवरणमा जनताको भावनात्मक असुरक्षाको दोहन गर्ने मात्र प्रयत्न गर्‍यो र रूपमा कम्युनिज्म, तर सारमा ‘क्रोनी क्यापिटालिज्म’को अभ्यास भयो ।

त्यो नै यसको असफलताको मुख्य कारण हो । दोस्रो, नेपालको जुन जातीय, क्षेत्रीय विविधता छ, इन्द्रधनुषी राष्ट्रिय चरित्र छ, त्यसलाई ठीक ढंगले सम्बोधन गरेर नेपाल सबै जाति र समुदायको साझा मुलुक हो भन्ने भाव देखाउन सक्नुपर्थ्याे ।

त्यसका निम्ति संघ, प्रदेश र स्थानीय तह गरी राज्यको जुन संघीय पुनर्संरचना भएको छ, त्यसलाई अत्यन्त तीव्रतासाथ नियम–कानुन बनाएर कार्यान्वयन गर्ने र सबै जाति, क्षेत्रका समुदायका जनतालाई एकताबद्ध गर्ने दिशातिर जानुपथ्र्यो र संघीयताको ठीक ढंगले कार्यान्वयनमार्फत लोकतन्त्रलाई जनस्तरसम्म गाउँ–गाउँ तथा वडा–वडासम्म पुर्‍याउन सक्नुपर्थ्याे ।

परन्तु योे सरकारको नेतृत्व गर्ने व्यक्तिहरूको जुन पुरानो एकात्मकतावादी, एकमनावादी चरित्र हो, त्यो नै अहिले पनि हाबी हुन पुग्यो । त्यस कारणले गर्दा तल्लो तहका जनतासम्म उत्साह र राष्ट्रिय एकता कायम हुन सकेन ।

तेस्रो, नेपालको जुन जटिल भूराजनीति छ; भारत र चीनजस्ता ठूला उदीयमान अर्थतन्त्र छन्; यिनको तीव्र गतिमा बदलिँदो शक्ति सन्तुलन र आर्थिक विकासको गतिबाट हाम्रो देशले लाभ लिने ढंगले नीति निर्माण गर्न र आफ्नो पदचाप मिलाउन सक्नुपर्थ्याे ।

दुवै छिमेकी अब हाम्रा दुस्मन होइनन्, ती दुवै झन्डै डेढ–डेढ अरब जनतासहितका विशाल बजार हुन् भन्ने सोचका साथ दुइवटा विशाल बजारको लाभ लिने ढंगले दुवै देशको सम्बन्धलाई गुणात्मक ढंगले पुनर्परिभाषित गर्दै अगाडि जाने सुझबुझ देखाउन सक्नुपर्थ्याे । त्यहाँ पनि सरकार पूर्ण रूपले चुक्यो ।

आवेगमा आएर कहिले कसैलाई पूरै सराप्ने, कहिले फेरि तुरुन्तै पछि गएर लत्रक्कै पर्ने ढंगको एउटा असन्तुलित प्रकारको चरित्र सरकारले देखायो । त्यसले गर्दा सामरिक शक्ति सन्तुलन, भूराजनीतिक सन्तुलन मिल्न सकेन र बाह्य पुँजी र प्रविधिको लगानी जुन मात्रामा आकर्षित हुनुपर्थ्याे, त्यो पटक्कै हुन सकेन । यो पनि सरकारको असफलताको एउटा प्रमुख कारण रह्यो ।

चौथो, आर्थिक विकास र समृद्धिको स्पष्ट मार्गचित्र यो सरकारसँग हुन सकेन । आर्थिक विकास र समृद्धिका निम्ति जुन प्रकारका संस्थागत संरचना निर्माण हुनुपथ्र्यो र निर्वाहमुखी कृषि अर्थतन्त्रलाई छोटो अवधिमा औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्ने स्पष्ट ढंगको मार्गचित्र हुनुपर्थ्याे, त्यसले कोर्नै सकेन ।

आर्थिक विकास र समृद्धिका कोरा नारा त यसले लगायो, खालि रेल, पानीजहाज जस्ता अर्मूत कुरा गरेर क्षणिक जनताको भावना र आकांक्षाको दोहन गर्न त खोज्यो, तर व्यवहारमा कुनै पनि परिणाम देखाउन सकेन ।

न त यसबीच राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ठूलो पुँजी प्रविधिको लगानी भएको कुनै एउटा त्यस्तो परिघटना नै भयो, न त ठूला पूर्वाधारहरू (ठूला राष्ट्रिय मार्ग, रेल मार्ग, जलविद्युत् आयोजनालगायत ठूला पूर्वाधार) निर्माणको सुरुवात हुन सक्यो ।

सरकारबाट पुरानैखाले कम्युनिस्ट पार्टीको आवरणमा जनताको भावनात्मक असुरक्षाको दोहन गर्ने मात्र प्रयत्न गरी रूपमा कम्युनिज्म, तर सारमा ‘क्रोनी क्यापिटालिज्म’को अभ्यास भयो । त्यो नै यसको असफलताको मुख्य कारण हो ।

कुनै पनि त्यस्ता ठूला पूर्वाधारले गति लिन सकेनन् । सँगसँगै कुनै ठूलो औद्योगिक लगानी पनि भएन । त्यसका निम्ति आन्तरिक र बाह्य पुँजी परिचालन कसरी गर्ने भन्ने प्रस्ट धारणा, मार्गचित्र पनि आउन सकेन ।

त्यस कारणले गर्दा आर्थिक विकास गुणात्मक अथवा भ्यागुते गतिमा उफ्रने विकास जुन हामीले भनेका छौँ, त्यो दिशातिर जानुको सट्टा उही हिजोकै पाराको सर्पझैँ घस्रने गतिमा यो सरकार घस्रिरह्यो।

पाँचौँ, सुशासन, शान्तिसुरक्षाका क्षेत्रमा पनि सरकार पूर्ण रूपले असफल रह्यो । परम्परागत सोपान क्रममा आधारित जुन नोकरशाही ढाँचा हो, त्यसलाई बदलेर कार्यसम्पादनमुखी, परिणाममुखी नयाँ कर्मचारीतन्त्र निर्माण गर्नुपथ्र्यो, त्यसमा कुनै पनि प्रयत्न गरिएन ।

पार्टीका पुराना कर्मचारीका ट्रेड युनियनलाई कायम राखेर तिनकै बलमा आफ्नै मान्छेलाई यताउता गर्ने मात्रै परिपाटीमा सरकार बाँधिएर बस्यो जसले गर्दा सुशासनको क्षेत्रमा कुनै पनि गुणात्मक परिवर्तन हुन सकेन ।

भ्रष्टाचार, कमिसनखोरी, अनियमितता, ढिलासुस्ती जस्ताको तस्तै रह्यो । त्यसको सँगसँगै संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको व्यवस्थापन पनि ठीक ढंगले हुन सकेन । स्थानीय तहमा कर्मचारी अभावमा गर्नैपर्ने सामान्य काम पनि भएन ।

निर्मला पन्तलगायत पन्ध्र सयभन्दा बढी महिलामाथि बलात्कार र अन्य हिंसाका घटनाबाट सरकार पूरै बदनाम भयो । यसरी सुशासन–प्रशासनको क्षेत्रमा पनि सरकार पूर्ण रूपले असफल रह्यो ।

छैटौँ, समाजको मनोविज्ञान नबदलिईकन विकास–समृद्धि हुँदैन । परम्परागत जुन संस्कृति र संस्कार हुन्छ, त्यसलाई पनि युगसापेक्ष ढंगले हामीले बदल्न सक्नुपर्छ ।

हाम्रो परम्परागत रूढिवाद, अन्धविश्वासमा जकडिएको र जातपात, छुवाछुतजस्ता कुसंस्कारमा जकडिएको समाजलाई आधुनिक समाजमा रूपान्तरण गर्नका निम्ति वैज्ञानिक र अग्रगामी सांस्कृतिक सामाजिक रूपान्तरणका अभियान सञ्चालन गर्नुपर्छ ।

नेपाली जनताको स्वाभिमानी देशभक्तिपूर्ण भावनालाई जगाएर एउटा आत्मविश्वासपूर्ण नयाँ मनोविज्ञानको सिर्जना गर्न सक्नुपर्छ । त्यो दिशामा यो सरकारबाट कुनै पनि नयाँ काम भएन । उल्टै देशको नेतृत्व गर्ने जिम्मेवार व्यक्तिहरूबाट सामन्ती ठाँटबाँट प्रदर्शन गर्ने, दासतापूर्ण व्यवहार गर्ने, रूढिवादी अन्धविश्वासलाई प्रश्रय दिनेजस्ता आचरण गरेको पाइयो । समग्रमा सबै क्षेत्रमा यो सरकार पूर्ण असफलताको दिशातिर गएको छ ।

यो सरकारले पाएको पाँच वर्षको अवधिमध्ये नौ महिनाभित्रै यस्तो निराशाजनक परिस्थिति पैदा हुनु भनेको ऐतिहासिक रूपमा एउटा विडम्बनापूर्ण घटना नै हो । युग परिवर्तन भयो, तर राजनीतिक दलहरूको चरित्र बदलिएन, ती दलको चिन्तन प्रणाली बदलिएन, कार्यशैली बदलिएन, उही पुरानै प्रकारको भ्रष्टाचारजन्य राजनीतिक संस्कार कायम रह्यो भनेर जनतालाई निकै निराश र आक्रोशित बनाएको छ ।

यतिवेला निराश बनेर होइन, कसैलाई गालीगलोज गरेर होइन परन्तु यो समस्याको वस्तुगत कारण ठम्याएर नेपाली जनताले फेरि आफूलाई नयाँ ढंगले पुनर्संगठित गर्ने, राजनीतिलाई नयाँ ढंगले ध्रुवीकृत गर्ने र अग्रगामी नयाँ विकल्प दिने साहस र आँट गर्नैपर्छ ।

 

हामीले डा. बाबुराम भट्टराईको लेख नयाँ पत्रिकाबाट लिएका हौं । 

Comments

अरु समाचार

  • कथा : सम्झनामा यौटा मान्छे कथा : सम्झनामा यौटा मान्छे

    हामी कहिलेदेखि फेसबुकमा साथी भयौँ मलाई याद छैन । तर फेसबुकको भित्तामा उसले पोस्ट गरेका कुराहरूले मलाई भित्रैबाट छुन्थ्यो ।...

  • विकास र समृद्धिको यात्रा विकास र समृद्धिको यात्रा

    प्रथम सामाजिक सुरक्षा दिवसमा प्रधामन्त्री केपी शर्मा ओलीको तीव्र आलोचना भयो । प्रधानमन्त्रीको आलोचना हुनु भनेको सरकारको आलोचना हुनु हो...

  • राष्ट्रिय ट्रमा सेन्टर र सामाजिक सेवा एकाई राष्ट्रिय ट्रमा सेन्टर र सामाजिक सेवा एकाई

      राष्ट्रिय ट्रमा सेन्टर अर्थो, न्यूरो, स्पाइन, वर्न र प्लाष्टिक सम्बन्धी उपचार सेवा प्रवाह गर्ने एक मात्र विशिष्टिकृत सरकारी अस्पताल...

  • लैङ्गिक हिंसा कहिलेसम्म ? लैङ्गिक हिंसा कहिलेसम्म ?

    सरस्वती पाण्डे/लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । महिला मात्रै पनि होइनन् पुरुष पनि अहिले हिंसाको सिकार हुने...

  • कथा : यस्तो पो प्यार ! कथा : यस्तो पो प्यार !

    नारायण नेपाल/‘खोइ’ आफ्नो त अनुहार नपरेर हो कि, क्या हो ? प्रेम गर्नेहरूको शहरमा पनि आजकल त्यसै घोत्लिएर बस्नुपरेको छ...

  • जीवनभर विद्रोही रहे बीपी जीवनभर विद्रोही रहे बीपी

    “पिताजी कृष्णप्रसाद कोइरालाले तीन बिबाहा गरे । जेठी पत्नी रूक्मिणीदेवीको प्रसूति व्यथाका क्रममा मृत्यु भयो । श्रीमतीलाई व्यथा लागेका दिन...

  • छोराको होइन सन्तानको खाँचो होस् छोराको होइन सन्तानको खाँचो होस्

    सरस्वती पाण्डे/लीलाकुमारी अर्यालले मंसिर २ गते एक राष्ट्रिय दैनिकमा ‘मेरो कोख चिहान होइन’ भन्ने शीर्षकको लेखले मेरो मन छोयो ।...

  • पुस्तक अंशः गिरिजाले सांघातिक हमला गराए पुस्तक अंशः गिरिजाले सांघातिक हमला गराए

    जेलबाहिर निस्केपछि काङ्ग्रेस पार्टीले मेरो खाने-बस्ने व्यवस्था नगरेकाले फारबिसगन्ज, पटना र दिल्लीमा भएका जान-पहिचानका व्यक्तिबाटै गुजारा गर्नुपर्ने भयो । फारबिसगन्ज-पटना...

  • लेख्ने शैली नजान्दा ३०–४० पल्ट असफल भएँ : पुनम भट्ट लेख्ने शैली नजान्दा ३०–४० पल्ट असफल भएँ : पुनम भट्ट

    काठमाडौँ ।  बैतडीको दुर्गम गाउँमा दैनिक करिब दुई घन्टाको बाटो हिँडेर विद्यालय पढेँ । स्कुलमा औसत विद्यार्थी थिएँ । उच्च शिक्षा महेन्द्रनगरमा...

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org