ताजा समाचार

महाकवि देवकोटाको जन्मघर संग्रहालय बन्दै

काठमाडौँ । विश्वप्रख्यात साहित्यकार विलियम शेक्सपियरको घरलाई बेलायत सरकारले ‘द शेक्सपियर ईन्स्टिच्युट’ बनाए जस्तै सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौंस्थित डिल्लीबजारको जन्मघरलाई संग्रहालय बनाउने भएको छ ।

कला र साहित्यको प्रबद्र्धन, प्रोत्साहन र संरक्षणमा प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको विशेष रुचि र चासो छ । त्यसैले प्रधानमन्त्रीले महाकवि देवकोटाको ११०औं जन्मजयन्तीका अवसरमा महाकविको घरलाई संग्रालय वनाउने घोषणा गरेका हुन् ।

महाकवि देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उनका कृतित्व र व्यक्तित्वबारे भावि पुस्तालाई जानकारी दिन संग्रहालयको आबश्यकता रहेकोमा प्रधानमन्त्रीको जोड छ । त्यसैले उनले सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीलाई आबश्यक व्यबस्थापनका लागि निर्देशन दिइसकेका छन् ।

संग्रहालय बनाउने बिषयमा सरकारका विभिन्न मन्त्रालय र निकायबिच समन्वयको काम भैरहेको मुख्यसचिव रेग्मीले बताए । उनले सरकारले गरेको निर्णयमा सहयोगी भूमिका निभाईदिनका लागि महाकवि देवकोटाको परिवारसँग पनि आग्रह गरेका छन् ।

‘प्रधानमन्त्रीज्यूको घोषणालाई हृदयदेखिनैं सहर्ष स्विकार गर्छौं ।’ महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले भनिन् – ‘हामी सरकारलाई आबश्यक सहयोग गर्न तयार छौं ।’

सरकारले देवकोटाको परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा घर खरिद गर्ने जनाएको छ । भग्नावशेषमा परिणत भएको यो घरलाई सरकारले रेट्रोफिटिङ गरेर पुर्ननिर्माण गर्ने जनाएको छ । यसको लागि घरपरिवार लगायत सबैको सहयोग रहने अपेक्षा सरकारको छ ।

विक्रम सम्बत १९६६ साल कार्तिक २७ गते लक्ष्मीपुजाको दिन जन्मिएका महाकवि देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटाका मुनामदन, शाकुन्तल, सुलोचना, पहाडी पुकार लगायत लोकप्रिय कृति प्रकाशित छन् ।

विश्वका विभिन्न मुलुकमा ख्यातिप्राप्त साहित्यकारका घर तथा कृति र उनीहरुले दैनिक प्रयोग गर्ने सामग्रिलाई संरक्षण गर्ने चलन छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org