ताजा समाचार

कोइराला परिवारसँग कुनै विवाद छैन : सभापति देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन्। मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले कोइराला परिवारका तीन नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताए।

‘झगडा नभएको कुनै घर छ देखाउनुस् तरु घरजस्तै पार्टीमा पनि झगडा र विवाद हुन्छन्। यसलाई मिलाउने हो, म मिलाउने प्रयास पनि गर्दैछु’ देउवाले भने,‘कोइराला परिवारका तीन नेता मिलेको खबरले म आत्तिएको छैन।’

पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि देउवासँगै थिए। देउवाले कोइराला परिवारमा जस्तै अब कांग्रेस पार्टीभित्रको झगडा पनि मिल्ने बताए। ‘परिवार, त्यसपछि गाउँ अनि जिल्ला र पार्टी सबै मिल्नु राम्रो कुरा हो। मिलेरै अघि बढ्ने हो,’ देउवाले भने। कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी संगठन विस्तारमा सहयोग पुग्ने उनको तर्क छ।

यसअघि आइतबार विराटनगरमा महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला र सुजाता कोइरालाले एउटै माला लगाएर आफूहरू एक भएको बताएका थिए। सभापति देउवाले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गरे।

उनले तोकिएको समयमा पार्टीको महासमिति बैठक हुने बताउँदै त्यसपछि कांग्रेसभित्र देखिएको विवाद हटेर जाने जिकिर गरे। सभापति देउवाले पार्टीलाई सङ्गठित बनाउन आन्तरिक प्रशिक्षण आवश्यक रहेको बताए। सभापति देउवाले कांग्रेस प्रजातान्त्रिक विचार बोकेको पार्टी भएकाले पार्टीभित्रका आन्तरिक विवादलाई गुट–उपगुट भन्न नमिल्ने धारणा व्यक्त गरे। रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org