ताजा समाचार

राष्ट्रपति तथा उपराष्ट्रपतिमाथि आँच आउने कार्य नगर्न आग्रह

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपति तथा उपराष्ट्रपति जस्ता उच्च लोकतान्त्रिक धरोहरका संस्थामाथि कहीँकतैबाट आँच आउने र अपमान हुने कार्य गर्र्न नहुने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा राष्ट्रपति तथा उपराष्ट्रपति पद उच्च सम्मानित पद हुन्, ती पदमाथि आँच आउने र अपमान हुने कार्य नगर्न म सबैमा आग्रह गर्दछु ।”

मन्त्री बाँस्कोटाले राष्ट्रपति तथा उपराष्ट्रपति र त्यसको कार्यालयमाथि पछिल्लो समय आएका टीका टिप्पणीमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै “राष्ट्रपति तथा उपराष्ट्रपतिले सरकारलाई यो सुविधा अथवा त्यो सुविधा चाहियो भनेर कहिल्यै केही भन्नुभएको छैन”, भन्नुभयो ।

सरकारले ती उच्च पदको उच्च गरिमालाई बुझेर नै काम गरेको उल्लेख गर्दै अघिल्लो सरकारले नै राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयका भौतिक संरचनालगायतका सेवासुविधाका बारेमा निर्णय लिएको जानकारी दिनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले एउटै गाडीका लागि रु १८ करोड खर्च नभएको र नहुने पनि बताउनुभयो ।

उहाँले प्रश्न गर्नुभयो, “गणतन्त्रका उच्च धरोहर राष्ट्रपति तथा उपराष्ट्रपतिलाई साइकल चढ्नुहोस् भन्न सक्छौँ ?”

प्रवक्ता बाँस्कोटाले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेको पनौतीमा स्थानान्तरण गर्न विसं २०७१ मङ्सिरमा नै निर्णय भइसकेको जानकारी दिँदै समाज कल्याण परिषद् भवन रहेको जमीनको स्वामित्व अर्थमन्त्रालयसित रहेको छ भन्नुभयो ।

“आफ्नो स्वामित्वमा रहेको जमीनको उपयोग कसरी गर्ने त्यो त सरकारको अधिकार क्षेत्रभित्र पर्ने बिषय हो, यसमा कुनै विवाद झिक्न आवश्यक छैन”, उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले सङ्घीय संसद् भवन बनाउन नक्साङ्कन भइसकेको पनि जानकारी दिनुभयो ।
–––

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org