ताजा समाचार

कथा : यस्तो पो प्यार !

नारायण नेपाल/‘खोइ’ आफ्नो त अनुहार नपरेर हो कि, क्या हो ? प्रेम गर्नेहरूको शहरमा पनि आजकल त्यसै घोत्लिएर बस्नुपरेको छ । एक्लै–एक्लै , के पो गर्ने होला ?

दुनियाँको चर्तिकला हेरेर वाक्क मान्दै थियो कथा ।  उसका चहेताहरू धेरैजसो बैता लागिसकेका थिए । थिए त केवल वर्तमानमुखी वर्णनहरू । जो विचार न व्यवहारका हुन्थे, अनि हुन्थे जबर्जस्ती थोपरिएका व्यक्तिका स्वनामी बेलुनहरू । जो नफुलाउँदा निचोरिएका कागतिजस्ता लाग्थे भने फूलाउन खोज्दा  खोज्दा पड्किन्थे बालामन भरङ्ग पारेजस्तो गरेर ।

‘चित्त नदुखा न, यार ! तेरा त कमसेकम खुजुमुज्ज भएपनि नबुझिने के–के–के–के भाषामा भए पनि आकार र प्रकारकै देख्छु प्रेमीहरू । आफ्नो त त्यत्तिका पनि कहाँ छन् र ! भैरहेको सत्य र स्वभाव नबुझिदिने, मभित्रको काव्यमन मेरो अजल नबुझी गजल खोक्ने, मेरो मुक्तकिलो मनको रुवाई अनि सुक्तकको नामेट गर्ने, मेरो लय र मधुरता महशुस नगरी आफू-आफू मिली मच्चाएको कोलाहलमा मलाई धकेल्ने, यस्ता–यस्ताले पहुँच बनाएर आधा मासु पारिसके ! हृदयी र सोचेजस्ता कोही नै नभेटिने ! आक्कल-झुक्कल भेटिने पनि नौटंकी, अझ अरु कस्ता–कस्ता ? कुरा गरिसाध्य छैन । दिक्क लागेर आउँछ यस्तो भएपछि ।

कविताको आफ्नै गुनासो थियो । साँच्चै उनलाई धेरैले लयालु बनाउन छोडिसकेका थिए । सधैं मदमत्त शोडषी रहेपनि मनको आनन्द नपाउने श्रापित अहिल्याको मानसिकतामा पिल्सिएकी उनलाई निबन्धले छोडेदेखिन् मन स्थिर थिएन । होस् पनि कसरी ! निबन्ध गए लगत्तै आएको नाटकले पनि उनको सर्बांग चुमेर टि–ए–पी–टाप कसेको रहेछ । फूल चुमेर उडेको भमरो बरू कदाचित् फर्किएर आउला, नाटकको नाकमुख नदेखेको वर्षौं भैसकेको रहेछ ।

सायद घटनाले नयाँ मोड लिएको थियो भन्न सकिन्छ । दुई दुखी आत्माहरू धेरैपछि एक ठाउँ भएका थिए । दुवै घायल अनि दुवै कुनै नयाँ दाउ हात पर्ने प्रयासमा थिए ! अरु के चाहियो र भन्न, अरु को चाहियो र सुन्न अनि सुनाउन !

‘मेरो जत्तिको गम्भीर हैन होला, मैयाँ, तिम्रो कुरा ! मसँग आउनेहरू पैलेका गुलबकावलीजस्ता छैनन् । शिशिर न वसन्त बशन्त, कोहीजस्ता पनि छैनन् । कुटुनीले सपना सजाइदिएका उपहारदाता भनौं ठूला मनगर्ने खालका त्यस्ता पनि छैनन् । न त कुनै छिमेकीजस्ता छन् । ऐलेका त जति आउँछन् खल्तीले चल्नेछन् । पैसा पनि चोरेर ल्याउँछन् कि भ्रष्टाचार गर्छन् कहाँबाट ल्याउँछन् र जथाभावी बग्रेल्ती खन्याउँछन् । दाम दिए काम गराए नाम लिए, हैरानी पो दिन्छन् त । विचारभन्दा प्रचारको तेज छ उनीहरूको । कसैले के भन्लान् नि बाबै पनि नसोच्ने कस्ता । यसरी ओज कम वजन बढी देखाउने र खरीबिनको मादल ठोक्ने तत्त्वहरूको जमात मलाई त  हेर न ! काउसै भैसक्यो ।

‘तर तिम्रा दाइ उपन्यास त सबै कुरा राम्रै चल्दैछ भन्थे त, साथी ?  कविताको प्रश्न अलि घुर्मैलो सुनिन्थ्यो । उपन्यास अलि समय तथा सन्दर्भ मिलाएर प्रस्तुत हुनसक्ने भएर हो कि मिजासै छुट्टै ! चिनैलो रसमा तीन तलामाथि पनि झिंगा बस्न पुग्छ भनेझैं उनको स्वभावमा पग्लिएर कला आइछन् उनको जीवनसङ्गिनी बनेर ! विवाहलाई नै जीवनको साँचो मान्नेहरूको सुन्ने हो भने उपन्यास र कलाको जोडी कामदेव र रतीले ईर्ष्या गर्ने खालको पो भएको छ रे ! यहाँ कथालाई अरुका ई सब कुरातिर लाग्नु छैन । उसका आफ्नै बिलौना छन् ।

‘दाईका कुरा छोड न ! तिमी, मेरा कुरा सुन । मेरो अवस्था अलि पृथक छ । तिम्रोजस्तो शीतमाथि जून टल्कने मेरो अवस्था पनि त छैन ऐले, छ र ? तिखेर कविताले पनि छिट्टो मुख गरी-‘हेर हेर कसरी भन्न सकेको ! शीतमाथि जून टल्कन शीत परेर मात्रै हुन्छ त बादलको घुम्टोमा जून लुकेको एक जुगै भैसकेन ! कि जूनकिरीको चमक देख्यौ ? मेरो हालत पातलो छ ऐले, हेर न ! केही बलात्कारीहरूले मेरो हुर्मत् लिन खोजे अनि आत्मरक्षाका लागि म भागेर तिम्रो गुहार लाउन आकिछु । शब्दको बिस्कुन पजनी अनौठो लाग्दो मान्न सकिन्थ्यो ।

‘कसले के गर्यो ? ल भन ! अनि के गर्नुपर्छ मैले जानेको छु । के-के मात्रै भन्नु तिमीलाई ! नभनौ पनि, साँचो सहयोगी कसैलाई त भन्नु त पर्छ नै ! हेर न, उ पर आउने जखमले पठ्याक्रोले मलाई जबर्जस्ती उसका ओठमा राखेर सार्वजनिक गर्यो ! त्यो मसिनो कोइलीले त झन् अश्लील गरेर छातीभित्रको टाटुमा राखेर कत्ति अपरिचित भएका ठाउँमा ह्वाङ्गै पार्देको नि ! कोही परेलाको उझिन्डो पारेर सातो लिने कोही तिघ्रामा राखेर थर्की खेल्ने, अनि मलाई त कस्तो-कस्तो लागेर होस् हवाश छैन ।  म के देख्तैछु, म के सुन्दैछु ! कृपया मद्दत गर न ! मेरो नजीकको भन्नु तिमीबाहेक अर्को को छ र यहाँ !

कथाले भित्रभित्रै मनपराउने गरेको व्यक्ति कविता नै थिई । उसले सोच्यो हुने हार दैव नटार त्यसै भनिएको होइन रहेछ  । पैले-पैले दिल खोल्ने अवसर मिले पनि भाऊ खोज्दै हिंडेको ऊ आज प्यारको मैदानमा हार स्वीकार्दै थियो ।  सहर्ष ! कुरा मिलाउन खप्पिस ऊ प्रेमिल भर्याङको खुड्किलो थप्तैथियो ।

‘उसो भए पर कतै अर्को पनि कोही छ ? नाटक गरिबसेको थाह भो नि ! यस्तो बेलामा पनि उल्टोपाल्टो कुरा गर्ने तिमी पुरुषहरू सबै उस्तै हौ  । तर तिम्रो त आश थियो, तिमी मेरो कुरा बुझ्छौ भनेर  ! हे भगवान ! यत्ति भन्दै कविता के सुँक–सुँक मात्र गर्न थालेकी थिई, कथाले भाका पुर्याएर अङ्कमाल गर्यो र तन-मनको प्रेम जाहेर गर्यो । कथा र कविताको मेलमा भाषा र साहित्यले संवाद गरे नर-नारी संसारमा जम्मा दुई थरी ! ती नमिले सृष्टि कहाँ चल्छ, कठैबरी ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org