ताजा समाचार

तीन अमेरिकी सैनिक मारिएका पेन्टागनद्धारा पुष्टि

वासिङटन ।  अफगानिस्तानको घाज्नी प्रान्तमा मङ्गलबार तीन अमेरिकी सैनिक मारिएको समाचारको अमेरिकी रक्षा मन्त्रालयले बुधबार पुष्टि गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनद्धारा प्रकाशित एक विज्ञप्तिमा दुई सैनिक र एक वायु सैनिक मारिएका बताइएको हो ।

घाज्नी प्रान्तको आन्दार क्षेत्रमा विस्फोटक पदार्थ विस्फोटमा परी ती सदस्यहरु मारिएका थिए । यस विस्फोटमा परी अन्य तीन सैनिक घाइते भएका पनि पेन्टागनले जानकरी दिएको छ ।

यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको जनाइएको छ । यस विस्फोटमा परी ज्यान गुमाएका सैनिकको परिचय भने खुलाइएको छैन ।

सन् २०१७ यता अफगानिस्तानमा अमेरिकी सैनिकमाथि गरिएको यो भीषण आक्रमण भएको बताइएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त घाज्नीमा हालैका सातामा तालिबान आतङ्ककारी समूहले आफ्ना आतङ्ककारी क्रियाकलाप बढाएका छन् ।

गत शनिबार भएको एक आतङ्ककारी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु भएपछि पुनः मङ्गलबार आक्रमण भएको बताइएको छ ।

यसै महिनामा अमेरिकी सेनाको राष्ट्रिय गार्डका प्रमुख अफगान सुरक्षाबलका एक सदस्यले हत्या गरेका थिए । सन् २००१ यता अफगानिस्तानका अमेरिकी सेनाले तालिबानविरुद्ध कारबाही सुरु गरेयता अमेरिकी सेनाका २ हजार चार सय सदस्यले ज्यान गुमाएका छन् ।
अमेरिकी सरकारले हालै गरेको एक अनुसन्धान प्रतिवेदनलाई उद्धृतगर्दै सिएनएनले दिएको जानकारीअनुसार हाल अफगानिस्तानको सरकारले देशका ५६ प्रतिशत जिल्लामा मात्र आफ्नो नियन्त्रण कायम गर्न सकेको अवस्था छ ।

बताइएअनुसार सन् २०१५ को नोभेम्बर महिनासम्म त्यहाँको सरकारले ७२ प्रतिशत नियन्त्रण कायम गरेको थियो । यसरी हेर्दा देशमा अफगानिस्तानको सरकारले तालिबानका विरुद्धमा नियन्त्रणको अवस्था गुमाउँदै गएको देखिएको छ ।

गत सोमबार अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा तालिबानको एम्बुस आक्रमणमा परी कम्तीमा पनि २० जना अफगान प्रहरी अधिकारी मारिएका छन् । अल जजिरा समाचार संस्थाले मारिने प्रहरीको संख्या २० पुगेको पुष्टि गरेको छ ।

यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको थियो । पछिल्ला केही महिना यता आएर तालिबानले अफगास्तिानको राजधानी काबुलमै पनि सशस्त्र हमला बढाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org