ताजा समाचार

कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने

दुल्लु । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्रदेश सरकारले निर्माण गर्न तयार रहेको बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टरले दैलेखमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “नौ सय मेघावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरले लगानी जुटाउन असफल देखिएको छ, लगानी जुटाउन असफल भएकै कारण पटक–पटक म्यादसमेत थपिएको छ, अब पनि जिएमआर कम्पनीले लगानी जुटाउन नसके जिएमआरले छोड्नुपर्छ, कर्णाली प्रदेश सरकारले आफैं निर्माण गर्छ ।”

मुख्यमन्त्री शाहीले भारतसँग सीमा जोडिएको बाँकेको जमुनाह नाकादेखि चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकासम्म जोड्ने गरी निर्माण गर्न लागिएको दु्रत मार्गको सम्भाव्यता अध्ययन भइरहेको बताउँदै उक्त दु्रत मार्ग दैलेख हुँदै जानेमा विश्वस्त रहन सबैमा आग्रह गरे ।

कर्णाली प्रदेशको समृद्धिका आधार पर्यटन रहेको उल्लेख गर्दै उनले त्यसका लागि सम्भावनाहरुको खोजी भइरहेको बताए । “दैलेखको दुल्लु क्षेत्रलाई ‘पर्यटकीयस्थल बन्दीपुर’ जस्तै बनाउनुपर्छ भनेका छौ”, मुख्यमन्त्री शाहीले भने, “कर्णालीको गरीबी हटाउन स्रोतको खोजीसँगै सम्भावनाहरुको खोजी भइरहेको छ ।”

उनले समग्र कर्णालीको विकासका लागि तीनवटै तहका सरकार र यहाँ कार्यरत गैरसरकारी सङ्घसंस्थासँग सरकारले हातेमालो गर्ने बताउँदै गैरसरकारी सङ्घसंस्थाले होटलमा कार्यक्रम गरेर खर्च गर्ने रकम अब विकासका काममा लगाउन आग्रह गरे ।

आत्मनिर्भर मानसिकताको विकास गर्न जरुरी रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले नयाँ संरचना भएका कारण प्रदेशको बजेट कार्यान्वयनमा तत्काल केहि समस्या देखिए पनि विस्तारै अन्त्य हुने बताए ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने पनि बताए ।

यसैबीच जिल्लाका सरकारी कार्यालयका कर्मचारीसँग गरिएको छलफलमा उहाँले बजेट कार्यान्वयनमा प्राथमिकता दिन, सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती नगर्न र नागरिकको सेवालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन पनि दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org